काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको छ।
शरीरको करिब ५५ प्रतिशत भाग जलेका नेपालीको निधनपछि सामाजिक सञ्जालमा सरकारको कार्यशैलीबारे व्यापक बहस र आलोचना भइरहेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा जनप्रतिनिधिले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र आत्महत्याको प्रयाससम्म पुग्नुपर्ने परिस्थितिको कारण खोज्नुपर्ने बताएका छन्।
रास्वपाकी सांसद समीक्षा बास्कोटाले प्रेम आचार्य र गणेश नेपालीको तस्बिर साझा गर्दै लेखेकी छन्, “निःशब्द। हिजो प्रेम आचार्यको जलनले जुन प्रश्न जन्मायो, आज गणेश नेपालीको जलनले फेरि त्यही प्रश्न दोहोर्याएको छ। फरक केवल समयको हो, समस्याको होइन।” उनले यस्ता घटना दोहोरिन नदिन राज्यले गम्भीर रूपमा आत्ममूल्यांकन गर्नुपर्ने उल्लेख गरेकी छन्।
रास्वपाका सांसद गणेश कार्कीले मानव जीवनको रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषी देखिए कानुनी कारबाही हुनुपर्ने बताएका छन्। उनले आत्महत्यासम्बन्धी बढ्दो घटनालाई सामान्य रूपमा लिन नहुने धारणा व्यक्त गरेका छन्।
पार्टीका केन्द्रीय सदस्य हिमेश पन्तले पनि एक नागरिक आफ्नै शरीरमा आगो लगाउने निर्णयमा पुग्नु समाज, राज्य र राजनीतिको गम्भीर असफलताको संकेत भएको बताएका छन्। उनले नागरिकको पीडा बुझ्ने र मानवीय संवेदनालाई प्राथमिकतामा राख्ने राज्य आवश्यक रहेको उल्लेख गरेका छन्।
यस्तै, सांसद रञ्जु दर्शनाले सामाजिक–आर्थिक समस्याले मानिसलाई चरम निराशामा पुर्याउन सक्ने भन्दै यस्ता घटनाको उपचार खर्च मात्रै नभई त्यसको मूल कारण पहिचान गरी समाधान खोज्नुपर्ने बताएकी छन्।
यसअघि २०७९ साल माघमा व्यवसायी प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए। गणेश नेपालीको घटनापछि त्यस घटनाको पनि पुनः चर्चा भइरहेको छ।
गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ। हालसम्म घटनाको वास्तविक कारणबारे आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
