काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे निधन भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले विज्ञप्ति जारी गर्दै शरीरको करिब ५५ प्रतिशत भाग जलेको अत्यन्त गम्भीर अवस्थामा बिहीबार गणेश नेपालीलाई आकस्मिक कक्षमा भर्ना गरिएको जनाएको छ।
अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिअनुसार भर्ना भएदेखि नै उनलाई सघन उपचार कक्ष (आइसियु) मा राखी मेकानिकल भेन्टिलेटरको सहायतामा निरन्तर उपचार गरिएको थियो। प्लास्टिक सर्जरी, एनेस्थेसिया तथा क्रिटिकल केयरका विशेषज्ञ चिकित्सक र नर्सिङ टोलीले उनको उपचारमा संलग्न भई जीवन बचाउन सम्भव सबै प्रयास गरेको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी भइरहेका बेला अचानक स्वास्थ्य अवस्था थप जटिल बनेको उल्लेख गरिएको छ। त्यसपछि चिकित्सकहरूले कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तथा अन्य जीवनरक्षक उपचारका उपाय अपनाए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
वीर अस्पतालले उपलब्ध सबै चिकित्सा प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गर्दागर्दै पनि बिरामीलाई बचाउन नसकेकोमा गहिरो दुःख व्यक्त गरेको छ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनाको कारणबारे प्रहरीको अनुसन्धान जारी छ।
