काठमाडौं । उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नाराबाजी गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका थिए।
प्रदर्शनका क्रममा जुलुसलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि केही समय प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। त्यसपछि माइतीघर क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
संयुक्त विद्यार्थी संगठनले गणेश नेपालीको मृत्युबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।
