काठमाडौं, असार २६ — परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले २०८३ असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्ने भएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सुरुवाती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने बताए।
सरकारले राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन विभिन्न सुधारका कदम अघि बढाएको जनाएको छ। यसअन्तर्गत छापिएका राहदानीहरू छिटो सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।
नयाँ प्रणाली लागू भएपछि नेपाली नागरिकले देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था हुनेछ। यसअघि आवेदन दिन स्थायी ठेगाना वा सम्बन्धित जिल्लामा पुग्नुपर्ने बाध्यता थियो।
प्रवक्ता क्षेत्रीका अनुसार, यो व्यवस्थाले नागरिकलाई आफ्नै पायक पर्ने स्थानबाट राहदानी सेवा लिन सहज हुने, सेवा वितरण थप व्यवस्थित बन्ने र नागरिकको समय तथा खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।
