• Tuesday 6th of October 2026

युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २६ — ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

बैतडी घर भएका भट्टलाई असार २२ गते पक्राउ गरिएको थियो। प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। उक्त कसुर प्रमाणित भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ।

भट्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा समन्वय इकाईको दरबन्दीमा रही हाल सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन्।

पीडित युवतीले असार २१ गते साँझ सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै, गल्लीमा एक्लै हिँडिरहेका बेला भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको आरोप लगाएकी थिइन्।

यद्यपि, अनुसन्धानका क्रममा भट्टले आरोप अस्वीकार गरेका छन्। प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा उनले आफू शौच गर्न लागेको दाबी गर्दै कुनै दुर्व्यवहार नगरेको बताएका छन्।

घटनापछि सार्वजनिक भएको भिडियोमा स्थानीयको सहयोगमा भट्टलाई नियन्त्रणमा लिएर पीडितसँग माफी मागेको देखिए पनि उक्त भिडियो हाल सामाजिक सञ्जालबाट हटाइएको छ। यसैबीच, भट्टका आफन्तहरूले उनीमाथि लागेको आरोप गलत भएको दाबी गर्दै पक्राउको विरोध गरेका छन्।

प्रहरीका अनुसार घटनास्थलमा सीसीटीभी क्यामरा नभएकाले दृश्य प्रमाण फेला परेको छैन। अन्य आसपासका क्यामरामा पनि घटनासम्बन्धी स्पष्ट दृश्य रेकर्ड नभएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पीडितको जाहेरीका आधारमा अनुसन्धान जारी छ। घटनास्थलमा प्रत्यक्षदर्शीसमेत नभएको र आरोपीको बयान प्रक्रिया अझै पूरा नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖