काठमाडौं — फिफा विश्वकप २०२६ को सेमिफाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्र अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड पुगेका छन्। शीर्ष वरीयताका चारै टोली अन्तिम चारमा पुगेपछि यसपटकको उपाधि दौड थप रोमाञ्चक बनेको छ।
प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गर्दा फिफाले विश्व वरीयताका शीर्ष चार टोलीलाई समूह चरणमा शीर्ष स्थान हासिल गरेमा सेमिफाइनलसम्म एकअर्कासँग नजुध्ने गरी फरक–फरक ब्राकेटमा राखेको थियो। चारै टोलीले समूह चरणमा शीर्ष स्थान कायम राख्दै नकआउट चरणका सबै खेल जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ।
सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। चारै टोलीले क्वार्टरफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
साविक विजेता अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। यस्तै फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।
विश्व फुटबलका स्थापित शक्तिका रूपमा रहेका यी चार टोलीबीच हुने सेमिफाइनल प्रतिस्पर्धाले यस संस्करणको विश्वकपलाई अझ आकर्षक बनाएको छ। फुटबल विश्लेषकहरूका अनुसार शीर्ष वरीयताका टोलीहरू अन्तिम चारमा पुगेपछि उपाधिका लागि हुने प्रतिस्पर्धा उच्चस्तरीय हुने अपेक्षा गरिएको छ।
