• Sunday 4th of October 2026

विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। विश्वकप २०२६ को क्वाटरफाइनलमा स्विजरल्याण्डविरुद्ध मैदान उत्रँदा अर्जेन्टिनाका खेलाडीहरूले हातमा कालो पट्टी बाँधेर पूर्वकप्तान तथा फुटबलका महान् व्यक्तित्व एन्टोनिओ रटिनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

८९ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएका रटिनको सम्मानमा अर्जेन्टिनी फुटबल संघले फिफासँग विशेष अनुमति मागेको थियो। फिफाको स्वीकृतिपछि अर्जेन्टिनी खेलाडीहरूले जर्सीको बाहुलामा कालो पट्टी बाँधेर मैदान प्रवेश गरेका हुन्।

रटिन फुटबल इतिहासका त्यस्ता खेलाडी मानिन्छन्, जसको एउटा घटनाले विश्व फुटबलको नियममा ठूलो परिवर्तन ल्यायो। हाल प्रयोग हुने पहेँलो र रातो कार्ड प्रणालीको अवधारणा रटिनसँग जोडिएको मानिन्छ।

सन् १९६६ को विश्वकपमा इङ्गल्याण्डविरुद्धको क्वाटरफाइनल खेलमा जर्मन रेफ्री रुडोल्फ क्रेइटलेनले रटिनलाई मैदानबाट बाहिर जान निर्देशन दिएका थिए। तर भाषागत समस्याका कारण आफूले निर्णय नबुझेको भन्दै रटिनले मैदान छाड्न अस्वीकार गरेका थिए। उनले मैदानबाट बाहिरिने क्रममा रानीका लागि राखिएको रातो गलैँचामा बसेर तथा इङ्गल्याण्डको झण्डाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका थिए।

यस घटनापछि भाषाका कारण रेफ्री र खेलाडीबीच हुने अन्योल हटाउन फिफाले सन् १९७० को विश्वकपदेखि पहेँलो र रातो कार्ड प्रणाली लागू गरेको थियो। यसले भाषा नबुझे पनि चेतावनी र निष्कासनको संकेत सबैका लागि स्पष्ट बनायो।

बोका जुनियर्सका महान् खेलाडी रटिनले आफ्नो १४ वर्षे व्यावसायिक करियर एउटै क्लबबाट बिताएका थिए। खेल जीवनपछि उनी राजनीतिमा प्रवेश गर्दै सन् २००१ देखि २००५ सम्म अर्जेन्टिनाको राष्ट्रिय संसदको तल्लो सदन ‘नेशनल चेम्बर अफ डेपुटीज’का सदस्य बने। उनी उक्त पदमा पुग्ने पहिलो पूर्व व्यावसायिक फुटबलर पनि हुन्।

उनै ऐतिहासिक व्यक्तित्वको सम्मानमा अर्जेन्टिनी टोलीले विश्वकपको महत्वपूर्ण खेलमा कालो पट्टी बाँधेर श्रद्धाञ्जली व्यक्त गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖