काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकार दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्।
आइतबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले सरकार जुन बाटोबाट सत्तामा आएको हो, त्यही बाटोबाट बाहिरिने टिप्पणी गरे।
उनले सरकारको आलोचना गर्दै वर्तमान व्यवस्थाले नागरिकलाई निराश बनाएको र केही मानिसहरू आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भएको आरोप लगाए।
प्रसाईँले आफूलाई राज्यले अनावश्यक रूपमा धरपकड गरेको र फसाउने प्रयास भइरहेको दाबी गर्दै त्यस्तो प्रयास सफल नहुने बताए।
यसअघि झापाबाट काठमाडौं आएका प्रसाईँले निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पछि प्रहरीले उनलाई घरमै पुर्याएर छाडेको थियो। त्यसलगत्तै उनले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
