एटलान्टा, असार ३० — फिफा विश्वकप २०२६ अन्तर्गत हुने अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल खेलको टिकट मूल्य फ्रान्स र स्पेनबीचको सेमिफाइनलको तुलनामा उल्लेखनीय रूपमा महँगो भएको छ।
‘टिकटडाटा डट कम’का अनुसार अर्जेन्टिना–इङ्ग्ल्यान्ड सेमिफाइनलको न्यूनतम टिकट मूल्य पछिल्ला तीन दिनमा ३४ प्रतिशतले वृद्धि भएर २,८४१ अमेरिकी डलर पुगेको छ।
यता मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलको न्यूनतम टिकट मूल्य १,३२५ अमेरिकी डलरमा झरेको छ, जुन तीन दिनअघि भन्दा २६ प्रतिशत कम हो। यससँगै अर्जेन्टिना–इङ्ग्ल्यान्ड खेलको टिकट मूल्य फ्रान्स–स्पेन खेलको भन्दा दुई गुणाभन्दा बढी पुगेको छ।
विश्लेषकहरूका अनुसार अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अपार लोकप्रियता, साविक विश्वविजेता टोलीप्रतिको आकर्षण तथा इङ्ग्ल्यान्डसँगको बहुप्रतीक्षित प्रतिस्पर्धाले टिकटको माग उच्च बनाएको हो। खेल अमेरिकाको एटलान्टामा आयोजना हुने भएकाले त्यहाँ बसोबास गर्ने ठूलो अर्जेन्टिनी समर्थक समुदायले पनि टिकटको माग बढाएको बताइएको छ।
यसैबीच, न्युयोर्क–न्युजर्सीस्थित रंगशालामा हुने विश्वकप फाइनलको न्यूनतम टिकट मूल्य ६,७६० अमेरिकी डलर कायम रहेको छ। यद्यपि पछिल्लो ७२ घण्टामा यसको मूल्य करिब ६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
फिफाले विगतमा पनि विश्वकप टिकटको उच्च मूल्यका कारण आलोचना खेप्दै आएको छ। खेल अर्थशास्त्रीहरूका अनुसार अमेरिका जस्तो ठूलो व्यावसायिक खेल बजारमा लागू गरिएको ‘डाइनामिक टिकट प्राइसिङ’ प्रणालीका कारण टिकटको मूल्य माग र आपूर्तिअनुसार निरन्तर परिवर्तन हुने गरेको छ।
