• Tuesday 6th of October 2026

प्रतिनिधिसभाबाट करिब २० मिनेटमै बाहिरिए प्रधानमन्त्री बालेन, जवाफ नदिँदा विपक्षी असन्तुष्ट


  • धनकुटा खबर
  • .

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट सहभागी भएर सदनबाट बाहिरिएका छन्। उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठक छाडेर बाहिरिएका हुन्।

प्रधानमन्त्री शाह र सभापति लामिछाने दिउँसो १:३७ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा प्रवेश गरेका थिए। करिब २० मिनेट बैठकमा बसेपछि उनीहरू बाहिरिएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीसँग विवादित अभिव्यक्तिबारे स्पष्टीकरण मागिरहेका बेला उनी बैठकमा उपस्थित भए पनि कुनै जवाफ नदिई बाहिरिएपछि विपक्षी सांसदहरूले असन्तुष्टि जनाएका छन्।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। सो भनाइको आधार र प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्ने, अन्यथा सदनमा माफी माग्नुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।

प्रधानमन्त्री बैठकमा उपस्थित भएपछि आजै उक्त विषयमा जवाफ दिने अपेक्षा गरिएको थियो। तर उनले कुनै प्रतिक्रिया नजनाई सदन छाडेपछि उक्त विषय अझै अनिर्णीत बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖