काठमाडौं — नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय नियमावली उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्री शाह र सभापति लामिछानेले सभामुखको आसन तथा बोलिरहेका सांसदबीचबाट हिँडेर प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाए।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (६) उल्लेख गर्दै सभामुखको आसन र बोलिरहेको सदस्यबीचबाट कुनै पनि सदस्य हिँड्न नपाइने व्यवस्था रहेको स्मरण गराए।
‘माननीय खुस्बु ओली संसद्मा बोलिरहनुभएको समयमा सम्माननीय प्रधानमन्त्रीज्यू र रास्वपाका सभापति रवि लामिछानेज्यू सभामुखको आसन र बोलिरहनुभएको सदस्यको बीचबाट हिँड्नुभयो, जुन नियमावलीविपरीत हो,’ महरले बैठकमा भने।
उनले यस्तो अभ्यासले संसदीय मर्यादा र सदनको गरिमामा असर पुग्ने उल्लेख गर्दै यस विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सभामुखबाट आवश्यक रुलिङ गर्न पनि उनले माग गरेका छन्।
