• Tuesday 6th of October 2026

ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यमा तनाव बढ्दै गएको छ। कांग्रेस नेतृत्वले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफलको प्रयास गरे पनि भेटवार्ता हुन नसकेपछि प्रदेश सरकारमा सहकार्य पुनरावलोकन गर्ने निष्कर्षमा पुगेको कांग्रेसका नेताहरूले बताएका छन्।

कांग्रेस स्रोतका अनुसार सत्ता सहकार्यका विषयमा संवाद नै हुन नसकेपछि प्रदेश सरकारहरूमा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिन कठिन हुने निष्कर्ष पार्टीभित्र बनेको छ।

यसको प्रभाव प्रदेश सरकारहरूमा समेत देखिन थालेको छ। कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। बागमती प्रदेशमा पनि सत्ता सहकार्यलाई लिएर विवाद जारी रहेको बताइएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार प्रदेश सरकारमा एमालेसँगको सहकार्य अन्त्य गर्ने विषयमा औपचारिक निर्णय नभए पनि सम्बन्धित प्रदेशका पार्टी संयन्त्रलाई अनौपचारिक रूपमा त्यसतर्फ तयारी गर्न निर्देशन दिइसकिएको छ।

उनका अनुसार, ‘एमाले नेतृत्वका प्रदेश सरकारमा कांग्रेसले आगामी आर्थिक वर्षको बजेट पारित गर्न सहयोग गर्‍यो। तर कांग्रेस नेतृत्वका प्रदेशमा एमालेले बजेट पारित गर्न सहयोग नगरेपछि गठबन्धन कायम राख्न कठिन भयो।’

उता नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले प्रदेश सरकारको फेरबदल सम्बन्धी विषय शीर्ष नेतृत्वबीच छलफल गरेर अघि बढ्ने सहमति रहेको बताए।

‘यस विषयमा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापतिबीच नै कुराकानी हुने भएकाले विस्तृत जानकारी छैन। तर सुदूरपश्चिममा किन एकाएक मन्त्री हटाउने निर्णय भयो भन्नेबारे जानकारी छैन,’ उनले प्रतिक्रिया दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖