काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
शनिबार बिहान जारी गरिएको मौसम बुलेटिनअनुसार मनसुनी वायुको सक्रिय प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने क्रम जारी रहनेछ।
महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
शनिबार राति भने देशका पहाडी भूभागसहित कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
आइतबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ।
सोमबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम बढ्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दा, यात्रु तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।
