• Tuesday 6th of October 2026

नयाँ सिक्कामा चुच्चे नक्सा हट्ने चर्चा, के हो वास्तविकता ?


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएपछि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा नयाँ सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटाइने चर्चा सुरु भएको छ। यस विषयलाई लिएर सरकार र नेपाल राष्ट्र बैंकको आलोचना समेत भइरहेको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकले स्वीकृत डिजाइन, आकार र तौलअनुसार आवश्यकता अनुसार नोट वा सिक्का छाप्न तथा टकमारी गर्न सक्छ। तर, सिक्का वा नोटको डिजाइन, आकार वा तौलमा परिवर्तन गर्नुपर्ने अवस्था आएमा सरकारको स्वीकृति अनिवार्य हुन्छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले नयाँ डिजाइनका सिक्का निष्कासनका लागि स्वीकृति दिएको निर्णयबाट डिजाइन परिवर्तन हुने संकेत देखिए पनि मन्त्रिपरिषद्को औपचारिक निर्णय प्राप्त नभएकाले नयाँ डिजाइनबारे आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्।

राष्ट्र बैंक स्रोतका अनुसार नयाँ सिक्काको अग्रभागमा हाल रहेको नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर (घार) गुम्बाको चित्र राख्ने तयारी गरिएको छ। मुस्ताङको मराङ गाउँमा रहेको उक्त गुम्बा नेपालकै सबैभन्दा पुरानो गुम्बामध्ये एक मानिन्छ। सातौँ शताब्दीमा निर्माण भएको विश्वास गरिने यो गुम्बा गुरु पद्मसम्भवसँग जोडिएको ऐतिहासिक सम्पदा भएकाले यसको चित्र सिक्कामा समावेश गर्ने प्रस्ताव गरिएको बताइएको छ।

२०७७ सालमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमा समावेश भएपछि २०७८ सालमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा अंकित सिक्का सार्वजनिक गरिएको थियो। नयाँ डिजाइन कार्यान्वयन भए हालको नक्साको स्थानमा गुम्बाको चित्र रहने चर्चा भइरहेको छ।

यद्यपि, मन्त्रिपरिषद्को निर्णयको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन र नेपाल राष्ट्र बैंकले पनि नयाँ सिक्काको अन्तिम डिजाइन आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। त्यसैले चुच्चे नक्सा हटाउने विषयमा हालसम्म औपचारिक पुष्टि भने भएको छैन।

यसैबीच, लो घ्याकर गुम्बाको संरक्षण अमेरिकी दूतावासअन्तर्गत सञ्चालित एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रमको सहयोगमा गरिएको विषयलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र बहस भइरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖