गोरखा । गृहमन्त्री सुधन गुरुङले आवश्यक कागजात पूरा गरेका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखाको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले नागरिकले छिटो, सहज र पारदर्शी सेवा पाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्तो निर्देशन दिएका हुन्।
उनले प्रशासनिक सेवा नागरिकमैत्री, सरल र झन्झटरहित बनाउनुपर्ने उल्लेख गर्दै अनावश्यक ढिलासुस्ती तथा प्रक्रियागत जटिलता हटाउन कर्मचारीलाई निर्देशन दिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयको सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीबाट प्राप्त गुनासोको व्यवस्थापनबारे जानकारी लिएका थिए। साथै, सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक सुधारका विषयमा पनि निर्देशन दिएका थिए।
