• Sunday 4th of October 2026

फिफाले सर्बाधिक कमाउँदा आर्थिक मारमा भने विश्वकपका दर्शक


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । यो विश्वकप यसअघिका कुनै पनि प्रतियोगिताभन्दा विशाल बनेको छ।

 

धेरै देशहरूको सहभागिता र अधिक खेलहरूको अर्थ हो, खेल हेर्ने दर्शकहरूको ठूलो संख्या र पैसा कमाउने थप अवसरहरू पनि पाउनु हो। जब विश्वका फुटबल स्टारहरू मैदानमा ऐतिहासिक क्षणहरू सिर्जना गर्छन्, मैदान बाहिर भने अर्बौं डलरको कारोबार भइरहेको हुन्छ।

 

तर सबैले ठूलो कमाइ गरिरहेका छैनन्, त्यसैले केहीले ठूलो लाभ लिँदा कतिपय आर्थिक रूपमा घाटामा पनि परेका छन्।

 

विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले विश्वकपबाट कमाउने रकम अकल्पनीय रूपमा ठूलो हुने गरेको छ । कतार २०२२ बाट यसले कीर्तिमानी ७.६ अर्ब डलर कमाएको थियो भने सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगितामा विशेष गरी ४८ टोलीको सहभागिता रहने भएकाले यो कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ।

 

ड्युचे बैंक रिसर्चकी वरिष्ठ रणनीतिकार मारियन लाबोरेका अनुसार चार वर्षे चक्रमा १३ अर्ब डलरको हाराहारीमा आम्दानी गर्दै फिफा ‘निःसन्देह’ मुख्य विजेता बनेको छ। फिफाको आम्दानी प्रसारण, इजाजतपत्र (लाइसेन्स) र हस्पिटालिटी अधिकारको बिक्री, प्रायोजन सम्झौता तथा टिकट बिक्रीबाट प्राप्त हुन्छ।

 

‘फिफाले आफ्नो आधिकारिक ‘रिसेल’ अर्थात पुनःबिक्री बजारमार्फत ‘सेकेन्डरी मार्केट अर्थात दोस्रो बजारमा पनि प्रवेश गरेको छ, जहाँ उसले खरिदकर्ता र बिक्रेता दुवैबाट १५ प्रतिशत शुल्क लिन्छ,’ लाबोरे थप्छिन्।

 

आगामी प्रतियोगिताहरूमा यस्ता गतिविधि अझ बढ्ने अपेक्षा गर्न सकिन्छ किनकि फिफाले प्रतियोगितालाई ६४ टोलीमा विस्तार गर्नेबारे विचार गरिरहेको छ। यसमा चीन र भारतजस्ता देशहरू पनि समावेश हुन सक्छन्, जसले गर्दा थप अर्बौं दर्शकहरू जोडिने सम्भावना रहन्छ।

तर, फिफाले अर्बौ डलर कमाउँदा दर्शकहरू भने प्रत्यक्ष रूपमा मारमा परेका छन् ।

दर्शकहरूले आफ्नो जीवनभरको सपना पूरा गरेको भए तापनि आर्थिक दृष्टिकोणले यो प्रतियोगिता उनीहरूका लागि निकै महँगो र चुनौतीपूर्ण साबित भएको छ।

 

टिकट खरिदमा मात्रै ठूलो रकम खर्चिनुपर्ने बाध्यता र माग बढ्दा मूल्य पनि बढाउने फिफाको ‘डाइनामिक प्राइसिङ’ अर्थात परिवर्तनशील मूल्य निर्धारण रणनीतिको व्यापक आलोचना भएको छ।

 

यहाँसम्म कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाराग्वेविरुद्धको आफ्नो देशको उद्घाटन खेलका लागि सम्भावित १ हजार डलरको टिकट मूल्यबारे सोधिँदा आफूले त्यति रकम नतिर्ने बताएका थिए।

 

न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनल खेलको टिकट आधिकारिक रूपमा ३२ हजार ९७० डलरमा बिक्रीका लागि राखिएको थियो भने पुनः बिक्रीका लागि राखिएका केही टिकटहरूको मूल्य २० लाख डलरभन्दा बढी तोकिएको थियो।

 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले टिकटको मूल्यको बचाउ गर्दै ती मूल्यहरू अमेरिकामा हुने अन्य खेलकुद प्रतियोगिताहरूसँग मेल खाने खालकै रहेको तर्क गरेका छन ।

 

त्यसो त टिकटबाहेक हवाई यात्रा, खाना र बसोबासको खर्चले पनि दर्शकहरूलाई आर्थिक भार थपेको छ। न्यु जर्सी ट्रान्जिट रेलको टिकटमा गरिएको मूल्य वृद्धिले निकै चर्चा पाएको थियो। मेटलाइफ स्टेडियमसम्मको ३० मिनेटको रेल यात्राका लागि सामान्यतया आउ जाउ भाडा १२.९० डलर पर्नेमा प्रतियोगिताको समयमा त्यसलाई बढाएर १५० डलर पुर्‍याइएको थियो। तीव्र आलोचनापछि मूल्य घटाइयो तर पनि ती मूल्यहरू सामान्य अवस्थाको तुलनामा बढी नै थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖