• Tuesday 6th of October 2026

धुलिखेलमा २४ घण्टा बिताएर काठमाडौं फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपाध्यक्ष तथा अर्थमन्त्री स्वर्णिम वाग्ले धुलिखेलस्थित एक रिसोर्टमा करिब २४ घण्टा बिताएर काठमाडौं फर्किएका छन्।

पार्टीभित्र सरकारको कार्यशैलीलाई लिएर विभिन्न चर्चा भइरहेका बेला लामिछाने र वाग्ले शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा पुगेका थिए। उनीहरू आइतबार अपराह्न काठमाडौं फर्किएको स्रोतले जनाएको छ।

रास्वपा स्रोतका अनुसार उनीहरू पारिवारिक रूपमा छोटो विश्रामका लागि रिसोर्ट पुगेका थिए। सुरक्षा स्रोतका अनुसार रिसोर्टमा उनीहरूसँग परिवारका सदस्य मात्र थिए भने रास्वपाका अन्य नेताहरू सहभागी थिएनन्।

यद्यपि, पार्टीका दुई शीर्ष नेताको यो भेटलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ। पछिल्लो समय सरकारको कार्यसम्पादन र केही मन्त्रीहरूको भूमिकाबारे विभिन्न चर्चा भइरहेका बेला उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेको तथा केही मन्त्री र पदाधिकारीबारे सभापति लामिछानेसँग छलफल गरेको चर्चा सार्वजनिक भएको थियो। त्यस्तै, लामिछानेले पनि प्रधानमन्त्रीको सचिवालयका केही सदस्य परिवर्तन गर्नुपर्ने धारणा राखेको बताइएको छ।

यद्यपि, रिसोर्टमा भएको भेटका विषयमा रास्वपा वा सम्बन्धित नेताहरूले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖