काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ः३० बजे रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसहित रोल्पा, दाङ, अर्घाखाँची तथा आसपासका जिल्लामा पनि महसुस गरिएको छ। स्थानीयवासीले केही समयसम्म कडा धक्का महसुस भएको बताएका छन्।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
