• Tuesday 6th of October 2026

अर्थमन्त्री वाग्लेकै भिल्लामा रवि दम्पतीको बसाइ: सरकार र रास्वपाबीचको तालमेलमा बहस


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा उपप्रधान एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको विशेष भेटघाट र बसाइपछि काठमाडौं फर्किएका छन्। सभापति लामिछाने आफ्नी पत्नी निकिता पौडेलसहित आइतबार अपराह्न राजधानी फर्किएका हुन्।

शनिबार दिउँसो अर्थमन्त्री डा. वाग्ले र त्यसको केही समयपछि लामिछाने दम्पती उक्त लक्जरी रिसोर्टमा पुगेका थिए । उनीहरू अर्थमन्त्री वाग्लेकै स्वामित्व वा लगानी साझेदारी रहेको भिल्लामा सँगै बसेका थिए।

शनिबार दिउँसो ३:०० बजे रिसोर्ट प्रवेश गरेका अर्थमन्त्री वाग्ले र त्यसको २० मिनेटपछि (३:२० मा) पुगेका सभापति लामिछानेबीच राति ढिलासम्म र आइतबार बिहान पनि छलफल भएको स्रोतले जनाएको छ।

रास्वपाभित्र र बाहिर सत्ता गठबन्धनको भविष्य, आगामी बजेटको कार्यान्वयन तथा पार्टीको आन्तरिक रणनीतिका विषयमा विभिन्न बहस चलिरहेका बेला दुई शीर्ष नेताबीचको यो भेटघाटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

सरकारमा रास्वपाको भूमिकालाई अझ प्रभावकारी बनाउने तथा सत्ता साझेदार दलहरूबीचको बढ्दो असमझदारीका बीच पार्टीको तर्फबाट लिइने आगामी कदमका विषयमा समेत नेताद्वयबीच गहन मन्थन भएको अनुमान गरिएको छ।

पार्टीभित्र नीतिगत र वैचारिक कमान्ड सम्हाल्दै आएका उपसभापति समेत रहेका अर्थमन्त्री वाग्ले र पार्टीको जनमतको मुख्य हिस्सा ओगट्ने सभापति लामिछानेबीचको यो एकान्त बसाइले रास्वपाको आगामी रणनीतिक मोडलाई दिशानिर्देश गर्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖