काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार गरिएको छ। जनतासँग भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि अज्ञात समूहले पछाडिबाट कालोमसी प्रहार गरेको हो।
घटना बिहीबार राति रौतहटको गढीमाई नगरपालिका–४ मा भएको हो। कार्यक्रममा सहभागी भएर फर्किरहेका बेला झन्डासहित आएका केही व्यक्तिले नाराबाजी गर्दै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए। घटनापछि उनीहरू उखुबारीतर्फ भागेका बताइएको छ।
सांसद पौडेलले घटनाको पुष्टि गर्दै राति करिब ८ बजेतिर कार्यक्रम सकिएपछि पछाडिबाट कालो पदार्थ प्रहार भएको बताए। उनका अनुसार संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ।
उनले आक्रमणकारीहरू मधेसी मुक्ति अभियानसँग आबद्ध रहेको दाबी गर्दै उनीहरूले ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो’ भन्ने नारासमेत लगाएको बताए। घटनास्थलमा उनीहरूले पर्चासमेत छरेका थिए।
सांसद पौडेलका अनुसार कार्यक्रमअघि केही व्यक्तिले आफूलाई स्थानीय कबरदाह (मुस्लिम समुदायको शव गाड्ने स्थान) अवलोकन गर्न आग्रह गरेका थिए। समय अभावका कारण अर्को दिन जाने बताएपछि पछि सोही समूहले नाराबाजी गर्दै कालोमसी प्रहार गरेको हुन सक्ने उनको अनुमान छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
