सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचनामा परेका छन्।
सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुप्ताको सार्वजनिक भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ। भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएकाले ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षाका आधारभूत नियम बेवास्ता गर्दै जोखिमपूर्ण शैलीमा यात्रा गरेको भन्दै धेरैले आपत्ति जनाएका छन्। सांसदजस्ता जिम्मेवार व्यक्तिले नियम पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने टिप्पणी सामाजिक सञ्जालमा गरिएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकल जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन्।
उनले भने, “बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु। हामी एउटा कार्यक्रमका लागि भसुवातर्फ जाँदै थियौं, यसबाहेक अरू विशेष कुरा छैन।”
सांसद गुप्ताको उक्त भिडियो अहिले पनि सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
