• Monday 5th of October 2026

रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिमाना गरेको छ।

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको थियो।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

उनले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाहरू ताजा भएको उल्लेख गर्दै लेखेका छन्, “त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु।”

आफ्नो गल्ती स्वीकार गर्दै उनले भविष्यमा यस्तो त्रुटि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖