काठमाडौं — सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल परिवर्तन नहुने बताएका छन्।
शिक्षा पत्रकारहरूसँग शुक्रबार आयोजित भेटघाटमा मन्त्री पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म निरन्तर रहने संकेत गर्दै सरकारले हालका लागि दुई दिने बिदा हटाउने कुनै योजना नरहेको स्पष्ट पारे।
उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राख्दै सातामा दुई दिन बिदा दिने व्यवस्था कायम राखिएको हो।
‘दुई दिन बिदा कायम रहन्छ। सरकारले तत्काल बिदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि अधिकांश देशमा दुई दिन बिदाकै व्यवस्था छ,’ मन्त्री पोखरेलले भने।
सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो। हाल उक्त व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुँदै आएको छ।
