काठमाडौं — विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी आरती रावललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
अदालतको आदेशपछि रावललाई कारागार चलान गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीले जानकारी दिएका छन्।
रावललाई असार २४ गते साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सामाजिक सञ्जालमार्फत एक महिलालाई अनर्गल गालीगलौज गरेको आरोपमा उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
आरती रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्। यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोपसहित मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामा भने अदालतले भुवन गिरीलाई सफाइ दिएको थियो।
