काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री तयार गरेको छ।
हाल फेसबुक र अन्य सामाजिक सञ्जालमा चर्चित बनेको बालबालिकाको भिडियोको प्रस्तुति शैलीलाई अपनाएर तयार गरिएको उक्त सामग्रीमा ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका सन्देश समेटिएका छन्।
छोटो, रोचक र प्रभावकारी शैलीका कारण भिडियोले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आकर्षित गरिरहेको छ।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गरेका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेका छन्। उनीहरूमध्ये दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् ।
ती बालिकाहरू रोल्पाको रुन्टीगढी गाउँपालिका–४, तोलबाङका हुन्। फरक–फरक रङ्गका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको दृश्य निकै आकर्षक छ।
