• Monday 5th of October 2026

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपी हटाउन माग


  • धनकुटा खबर
  • .

वीरगन्ज । मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको प्रशासनिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा बुझाएका हुन्।

चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै दुवै अधिकारीलाई हटाउनुपर्ने माग अघि सारेका छन्।

अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये ४० भन्दा बढीले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेको जनाइएको छ भने बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको बताइएको छ।

अस्पतालका डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि आकस्मिक सेवा सञ्चालन गर्न चिकित्सकहरू सहमत भएका थिए। आक्रमणमा संलग्नलाई कारबाही गर्ने आश्वासनपछि वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सक र प्रशासनबीचको छलफल भने तनावपूर्ण बनेको उनले बताए।

उनका अनुसार वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि वातावरण बिग्रिएको थियो। त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूमाथि अपशब्द प्रयोग गर्दै प्रहरी परिचालन गरी नियन्त्रणमा लिएको आरोप चिकित्सकहरूको छ।

चिकित्सकहरूले प्रशासनले मोबाइलसमेत खोसेर करिब एक घण्टा नियन्त्रणमा राखेको दाबी गरेका छन्। सुरक्षित वातावरणमा काम गर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ।

गत साउन ९ गते डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनापछि आन्दोलन सुरु भएको हो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यता, नेपाल चिकित्सक संघले पनि घटनाको विरोध गर्दै देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरिसकेको छ। चिकित्सकहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा सीडीओ र एसपीलाई हटाउनुपर्ने माग पूरा नभएसम्म काममा नफर्किने अडान लिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖