काठमाडौँ । गोपालमान श्रेष्ठ को मंगलबार दिउँसो काठमाडौंको कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको छ। उनी ७६ वर्षका थिए।
लामो समयदेखि प्याङ्क्रियाज (अग्न्याशय) क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य पछिल्ला केही महिनादेखि गम्भीर बन्दै गएको थियो। प्रारम्भिक उपचार नेपालका विभिन्न अस्पतालमा गराएपछि उनी थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए। त्यहाँ किमोथेरापी उपचार गराएर स्वदेश फर्किए पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको थिएन।
नेपाली कांग्रेसको संगठनमा तल्लो तहदेखि नेतृत्व तहसम्म सक्रिय रहेका श्रेष्ठले पार्टीको उपसभापति, कार्यवाहक सभापति तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। वि.सं. २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला सभापति शेरबहादुर देउवा जेलमा रहेका समयमा श्रेष्ठले कार्यवाहक सभापतिको भूमिका निर्वाह गर्दै पार्टी संगठनलाई नेतृत्व दिएका थिए।
सादगी, स्पष्ट विचार र भद्र स्वभावका नेताका रूपमा परिचित श्रेष्ठ पछिल्लो समय सक्रिय राजनीतिमा कम देखिए पनि उनका धारणा र सार्वजनिक अभिव्यक्ति प्रभावशाली मानिन्थे।
हालै नेपाली कांग्रेसका सभापति गगन थापा ले श्रेष्ठलाई पार्टीको ‘वरिष्ठ नेता’ बनाउने घोषणा गरेका थिए। केन्द्रीय कार्यसमितिबाट उक्त निर्णय औपचारिक रूपमा अनुमोदन गर्ने तयारी भइरहेका बेला उनको निधन भएको हो।
श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अनुभवी र लामो राजनीतिक यात्रा गरेका नेतालाई गुमाएको छ।
