• Monday 5th of October 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्।

मंगलबार बेलुका अचानक चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।

डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि उनलाई बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (Benign Paroxysmal Positional Vertigo–BPPV) को लक्षण देखिएको बताएका छन्। यो समस्या सामान्यतया भित्री कानको सन्तुलन प्रणालीसँग सम्बन्धित हुने र यसका कारण अचानक चक्कर आउने, टाउको घुमेझैँ महसुस हुने तथा वाकवाकी वा वान्ता हुने लक्षण देखिन सक्छ।

मानुषीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै डा. भट्टराईको अन्य सबै स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य रहेको बताएकी छन्। चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको उनले उल्लेख गरेकी छन्।

हाल डा. भट्टराई ग्राण्डी अस्पतालमै चिकित्सकहरूको निगरानीमा रहेका छन्। परिवारले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता नगर्न आग्रह गर्दै आवश्यक उपचार भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖