काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा पन्तलाई पक्राउ गरिएको हो। उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा भएको अनियमिततासम्बन्धी विषयमा पन्तमाथि अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल पनि यसअघि नै अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन्।
सीआईबी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त कर्जा प्रवाहमा अनियमितता भएको तथ्य फेला परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
