• Monday 5th of October 2026

युएई जाने नेपाली श्रमिकका लागि नयाँ व्यवस्था, संस्थागत भिसा प्रमाणीकरण अनिवार्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबई तथा उत्तरी इमिरेट्सका फ्री जोन र अर्धसरकारी कम्पनीहरूमा रोजगारीका लागि जाने नेपाली श्रमिकका लागि नयाँ व्यवस्था लागू गरिएको छ।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिसा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गरेको जनाएको हो।

दूतावासका अनुसार मागपत्र प्रमाणीकरण भई भर्ना प्रक्रियामा रहेका श्रमिकहरूले युएई प्रस्थान गर्नुअघि श्रम स्वीकृतिका लागि अनिवार्य रूपमा संस्थागत भिसा प्रमाणीकरण गराउनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार फ्री जोन र अर्धसरकारी कम्पनीहरूका हकमा अफर लेटर वा रोजगार सम्झौता अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, कम्पनीले रितपूर्वक भरिएको आवेदन फारामसँगै भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र आधिकारिक हस्ताक्षरसहितको भिसाको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट प्राप्त पूर्वस्वीकृति पत्र तथा स्वीकृत मागपत्र (डिमान्ड लेटर) को प्रतिलिपि पनि बुझाउनुपर्ने दूतावासले जनाएको छ।

त्यस्तै, अफर लेटर वा रोजगार सम्झौतामा श्रमिकको आधारभूत तलब तथा अन्य सेवा–सुविधा स्वीकृत मागपत्रअनुसार स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ। म्यानपावर कम्पनीले जारी गरेको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीको आधिकारिक प्रतिनिधिको परिचयपत्र वा अख्तियारी पत्रसमेत अनिवार्य कागजातका रूपमा समावेश गरिएको छ।

दूतावासले प्रक्रिया थप पारदर्शी बनाउन पेस गरिने सबै कागजात सम्बन्धित कम्पनीका आधिकारिक प्रतिनिधिबाट स्व–प्रमाणित (Self-certified) गरिएको हुनुपर्ने व्यवस्था गरेको छ।

नेपाली महावाणिज्यदूतावासले युएईमा कार्यरत कम्पनीहरू, म्यानपावर व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई नयाँ व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖