विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार उनलाई दिउँसो १:२४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
उक्त घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
देवानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
