• Monday 5th of October 2026

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी सद्भाव कामय गर्न आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरीलगायत कोशी क्षेत्र र तराईका विभिन्न भूभागमा देखिएको आपसी द्वन्द्व र अशान्तिप्रति गहिरो दुःख व्यक्त गर्दै एक सद्भाव सन्देश जारी गरेका छन्।

निर्मल निवासस्थित उनको सचिवालयले जारी गरिएको सन्देशमा उनले नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एकअर्कामा मायाप्रिति गाँसी बसेका जातजाती भएको स्मरण गराएका छन्।

नेपाली समाज बहुजातीय र बहुभाषिक भए पनि आफ्नै धर्म, संस्कृति र रीतिथितिअनुसार आस्था र मान्यता राख्दै आएको परम्परा रहेको तथा यही विशिष्ट धार्मिक, सांस्कृतिक एवं सामाजिक गुणका कारण विश्वमा हाम्रो सम्मान रहेको उनले बताएका छन्। यो नेपाली विशेषता र गौरब गरिमालाई हामीले गुम्न दिन नहुने तथा कोही कसैबाट यसमा खलल पार्ने काम हुनु नहुनेमा उनले जोड दिएका छन्।

सन्देशमा केही दिन अगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भूभागको जनजीवन अशान्त बनेको सुन्दा अत्यन्त दुःख लागेको जनाइएको छ। 

समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशको रूपमा सुपरिचित नेपालमा यस्ता प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय तथा हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय भएको पूर्वराजा शाहले औंल्याएका छन्। 

जुनसुकै भूभागमा रहे पनि मिलेर बस्नु नै आजको आवश्यकता रहेको भन्दै उनले सबैलाई संयम र एकता कायम राख्न आह्वान गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖