• Monday 5th of October 2026

सिरहा घटना: गोली लागेर प्रहरी सहायक हवल्दार घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शन नियन्त्रणका क्रममा नेपाल प्रहरीका एक जना प्रहरी सहायक हवल्दार गोली लागेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासु पाठकका अनुसार प्रदर्शन नियन्त्रणमा खटिएका प्रहरी सहायक हवल्दार नारद परियारको घुँडामुनि गोली लागेको हो। घाइते परियारलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।

एसपी पाठकले गोली कसले प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सुनसरीको देवानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको प्रभाव मधेसका जिल्लामा पनि देखिएको छ। त्यसैको क्रममा बिहीबार दिनभर सिरहाको गोलबजार क्षेत्रमा प्रदर्शन र झडप भएको थियो।

प्रदर्शन नियन्त्रणका क्रममा नेपाल प्रहरीका डीएसपी रमेश पालसहित १२ जना प्रहरी घाइते भएका छन्। त्यस्तै, सशस्त्र प्रहरी बलका डीएसपी सियाराम चौधरीसहित सात जना सशस्त्र प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ।

यता, प्रदर्शनका क्रममा घाइते भएका धनुषाको मिथिला बिहारी नगरपालिका–८ निवासी १९ वर्षीय सुवास ठाकुरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसैगरी, गोलबजार नगरपालिका–४ निवासी ६२ वर्षीय आलम खान पनि घाइते भएका छन्। उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ।

यसअघि गोलबजारमा दुई पक्षबीच भएको झडपमा औरही गाउँपालिका–२ निवासी १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

घटनापछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖