• Monday 5th of October 2026

ब्रोड पिक हिमपहिरो : बेपत्ता निर्मल पुर्जाको ट्र्याकिङ डिभाइसमा हलचल,, हेलिकप्टरबाट खोजी गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको ट्र्याकिङ डिभाइसमा हलचल देखिएको छ।

बीबीसीका अनुसार पुर्जाको लोकेसन देखाउने ट्र्याकिङ डिभाइस सक्रिय रहेको पाइएको छ। उनका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको भए पनि घटनाबारे विस्तृत जानकारी साँझ मात्र प्राप्त भएको हो।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार हिमपहिरो गएको थियो। विश्वको १२औँ अग्लो तथा कठिन आरोहण गन्तव्य मानिने यस हिमालमा हिमपहिरो जाँदा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको जनाइएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त टोलीको नेतृत्व निर्मल पुर्जाले गरिरहेका थिए। टोलीमा पुर्जासहित पाँच जना नेपाली, पाकिस्तानको हुन्जाका सोहेल साखी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ नागरिक मिस्टर वाङ तथा अर्का एक विदेशी आरोही रहेका छन्।

उद्धारका लागि मौसम अनुकूल हुनेबित्तिकै खोजी अभियान सुरु गरिने तयारी भइरहेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका वरिष्ठ उपाध्यक्ष करार हैदरीका अनुसार स्कार्दुबाट हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ। क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदले सरकारी निकायसँग समन्वय गरेर खोजी तथा उद्धार अभियानलाई तीव्र बनाइएको बताएका छन्।

क्लबले मौसम र प्राविधिक अवस्थाअनुसार हेलिकप्टर तथा अन्य उद्धारका साधन यथाशीघ्र परिचालन गर्न प्रयास भइरहेको जनाएको छ। साथै, बेपत्ता सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

नेपालमा जन्मिएका निर्मल पुर्जा सन् २००३ मा ब्रिटिस सेनामा आबद्ध भएका थिए भने सन् २००९ मा रोयल मरिनमा प्रवेश गरेका थिए। सन् २०१२ मा सगरमाथा आधार शिविरको पदयात्रापछि पर्वतारोहणतर्फ आकर्षित भएका उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनाभन्दा कम समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। यस उपलब्धिका लागि उनीसँग गिनिज वर्ल्ड रेकर्डका ६ वटा कीर्तिमानसमेत रहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖