काठमाडौं, १५ साउन । फिफाले आफ्नो नयाँ व्यावसायिक सहायक कम्पनीको सेयर निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने योजना अघि बढाएमा विश्वकप लगायतका फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने निर्णय युरोपेली फुटबलको नियामक निकाय, युइएफएले गरेको छ।
विश्वकपको सेयर बिक्री गर्ने जियानी इन्फान्टिनोको योजनाको विरोधमा बिहीबार युइएफएका सदस्य संघहरूले सर्वसम्मत रूपमा फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
आफ्ना ५५ सदस्य राष्ट्रहरूसँगको आकस्मिक अनलाइन बैठक पछि युरोपेली फुटबल निकाय ‘युइएफए’ र यसका राष्ट्रिय संघहरू फिफाका प्रतियोगिताहरूमा सहभागी हुने छैनन् भनी घोषणा गरेको छ।
फिफाका अध्यक्ष इन्फान्टिनोले आफ्ना २११ विश्वव्यापी सदस्यहरूमध्ये प्रत्येकलाई २० मिलियन डलर उपलब्ध गराउने भनी गरेको प्रस्तावको जवाफ दिन यो रणनीतिक बैठक बोलाइएको थियो, उक्त प्रस्ताव सेप्टेम्बरको मध्यसम्ममा स्वीकार गरि सक्नुपर्ने प्रावधान थियो।
मंगलबार इन्फान्टिनोको एउटा गोप्य प्रस्ताव सार्वजनिक भयो, जसमा संस्थाको व्यावसायिक कारोबारलाई २० अर्ब डलरको छुट्टै परियोजनाका रूपमा सञ्चालन गर्ने र त्यसको २० प्रतिशत स्वामित्व निजी लगानीकर्ताहरूलाई दिने योजना अगाडी सारिएको थियो।
यस परियोजनाको मुख्य लगानीकर्ता न्युयोर्कस्थित ‘भेन्चर क्यापिटल’ लगानी कम्पनी हुनेछ, जसको स्थापना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले गरेका हुन्।
‘जबसम्म यी प्रस्तावहरू कायम रहन्छन्, तबसम्म कुनै पनि युइएफएका राष्ट्रिय टोलीले फिफाको कुनै पनि प्रतियोगितामा भाग लिने छैनन् यद्यपि, यदि यो प्रस्ताव पूर्ण रूपमा खारेज गरियो र फिफाले भविष्यमा कहिल्यै पनि आफ्नो शासन वा प्रतियोगिताहरू निजी स्वामित्वका लागि खुला नगर्ने बाध्यकारी प्रतिबद्धता जनायो भने मात्र यसमा पुनर्विचार हुन सक्छ,’ युइएफएले एक विज्ञप्तिमा भन्यो।
‘विश्वकपलाई लगानीको वस्तुका रूपमा हेर्न मिल्दैन, यो फुटबलको सबैभन्दा ठूलो खेलकुद सम्बन्धी विरासतमध्ये एक हो। यसलाई हरेक महादेशका खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूले पुस्ता दर पुस्ताको प्रयासबाट निर्माण गरेका हुन्,’ बिज्ञप्तिमा भनिएको छ, ‘यसको कुनै पनि हिस्सा निजी लगानीकर्ताहरूलाई सुम्पिनु हुँदैन, विश्वकप बिक्रीका लागि होइन।’
फिफाको अर्को प्रतियोगिता युरोपमा हुँदैछ । यो पोल्यान्डको आयोजनामा सेप्टेम्बर ५ देखि सुरु हुने ‘फिफा यू–२० महिला विश्वकप’ हो।
बिहीबार अघिल्लो प्रहरमा विश्वभरका फुटबल निकायहरूबाट तीव्र विरोध भएपछि इन्फान्टिनोले विश्वकपको स्वामित्वको केही हिस्सा बिक्री गर्ने योजनालाई केवल एउटा ‘प्रस्ताव’ मात्र भएको र यो ‘अनिवार्य नभएको’ प्रारम्भिक प्रतिक्रिया दिएका छन ।
एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले यस योजनाबारे फिफाले कुनै परामर्श नगरेको जनाउँदै यो कार्यलाई पूर्ण रूपमा अस्वीकार्यू भन्दै आलोचना गरेका छन । उनले यो कदमले खेलको विद्यमान महादेशीय संरचनालाई कमजोर पार्ने बताए।
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले फुटबलको सर्वोच्च निकायको उक्त योजनाको कडा आलोचना गर्दै यो प्रतियोगिता केही सीमित पदाधिकारीहरूको स्वामित्वमा रहने व्यावसायिक सम्पत्ति नभएको बताए। ‘फुटबल कुनै व्यक्ति वा संस्थाको होइन, यो त जनताको हो,’ उनले भने ।
