• Monday 5th of October 2026

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित विश्वको १२औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीबारे नयाँ प्राविधिक जानकारी सार्वजनिक भएको छ।

सांसद तथा पुर्जाका व्यावसायिक साझेदार मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ उपकरणबाट प्राप्त पछिल्लो जीपीएस संकेतले निर्मल पुर्जा समुद्री सतहबाट ५,८७८.६७ मिटर उचाइमा एकै स्थानमा रहेको देखाएको छ।

नेपाली समयअनुसार बिहान ६ः१८ बजे अद्यावधिक भएको स्याटेलाइट सन्देशमा पुर्जाको भौगोलिक अवस्थिति पुष्टि भएको हो। प्राप्त जीपीएस तथ्यांकअनुसार उनको हिँडाइको गति शून्य देखिएकाले टोली विश्राममा रहेको, प्रतिकूल परिस्थितिमा अड्किएको वा अगाडि बढ्न नसकेको हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, ट्र्याकिङ उपकरणको ब्याट्रीको अवस्था ‘लो’ रहेको देखिएकाले आगामी समयमा जीपीएस संकेत निरन्तर प्राप्त नहुन सक्ने जोखिम पनि रहेको जनाइएको छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा नेतृत्वको टोली ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएको थियो।

जीपीएस ट्र्याकिङले देखाएको अक्षांश–देशान्तरको स्थान पाकिस्तानको ब्रोड पिक र केटू क्षेत्रको आधार शिविरभन्दा माथिल्लो भेगमा पर्ने जनाइएको छ। उद्धार टोलीले मौसम अनुकूल हुनेबित्तिकै खोजी तथा उद्धार अभियानलाई तीव्र बनाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖