काठमाडौँ । नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव पाकिस्तानस्थित ब्रड पिक हिमालमा फेला परेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धारमा खटिएको टोलीले निम्स दाइको शव करिब ५ हजार ७ सय मिटरको उचाइमा फेला पारेको हो।
उद्धार टोलीले घटनास्थलमा निम्स दाइसँगै अन्य तीन वटा शव पनि देखेको जनाएको छ। ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको बताइएको छ।
हाल उद्धारकर्मीहरूले शवहरूलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेका छन्। प्रतिकूल मौसम र अत्यन्तै कठिन भौगोलिक अवस्थाका कारण उद्धार तथा शव संकलन कार्य चुनौतीपूर्ण बनेको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।
क्लबले जारी गरेको वक्तव्यमा उद्धार अभियान कठिन परिस्थितिमा सञ्चालन भइरहेको उल्लेख गर्दै आधिकारिक जानकारीका लागि धैर्य गर्न सबैसँग आग्रह गरेको छ।
