जनकपुर । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि विभिन्न विषयमा समझदारी भएको छ।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री गुरुङको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। हिन्दू सम्राट सेनाले यसअघि सरकारलाई बुझाएको १३ बुँदे मागमा थप ६ बुँदा समावेश गर्दै १९ बुँदे प्रस्ताव पेश गरेको जनाएको छ।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार सरकारले प्रस्तुत मागहरूलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको छ।
वार्ताका क्रममा आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा भएको गोलीकाण्डको छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको सनातनीले बताएका छन्।
सरकारबाट माग सम्बोधन हुने प्रतिबद्धता प्राप्त भएपछि हिन्दू सम्राट सेनाले सञ्चालन गर्दै आएका आन्दोलन तथा विरोधका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको छलफलमा गृहमन्त्री गुरुङले सरकारका तर्फबाट हिन्दू सम्राट सेनाले बुझाएको १३ बुँदे मागपत्र तथा शनिबार पेश गरिएको थप ६ बुँदे मागपत्र ग्रहण गरेका थिए।
समझदारी भएको जानकारी सार्वजनिक भए पनि त्यसको विस्तृत विवरण, कार्यान्वयनको समयसीमा तथा सरकारका तर्फबाट भएका औपचारिक प्रतिबद्धताबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।
