• Monday 5th of October 2026

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो, थप एक शव उच्च क्षेत्रमा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानका क्रममा थप चार पर्वतारोहीको शव उठाइएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार घटनास्थलबाट उद्धार गरिएका शवहरूमा नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ), चीनका वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्।

क्लबका अनुसार यसअघि तीन जनाको शव उद्धार गरिसकिएको छ भने हाल पहिचान भएका यी चार जनाको शव क्याम्प–१ (सी–१) तर्फ झार्ने कार्य जारी छ।

उद्धार टोलीले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेको भए पनि अत्यन्त जोखिमपूर्ण भू–भाग र प्रतिकूल मौसमका कारण तत्काल उक्त शव उद्धार गर्न कठिन रहेको जनाएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियान सञ्चालन गरिरहेका पाकिस्तानी तथा नेपाली उद्धार टोलीको साहस, व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ।

क्लबले यस दुःखद घटनामा ज्यान गुमाएका पर्वतारोहीका परिवार, आफन्त तथा विश्व पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै आधिकारिक र प्रमाणित सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, अपुष्ट तथा अनौपचारिक विवरण सार्वजनिक नगर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई अनुरोध गरेको छ।

काराकोरम हिमशृंखलामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖