• Monday 5th of October 2026

‘माग पूरा नभए व्यवस्था नै ढाल्छौं’, दुर्गा प्रसाईंको सरकारलाई चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं ले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान लोकतान्त्रिक व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत अधिकार कमजोर बन्दै गएको आरोप लगाए।

प्रसाईंले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह को “नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी हो” भन्ने भनाइ स्मरण गर्दै देशमा राष्ट्रिय एकता कमजोर पार्ने गतिविधि बढेको दाबी गरे। उनले सरकार तथा सत्तारूढ पक्षले आफ्ना समर्थक प्रयोग गरेर “नक्कली सहमति” र “प्रपञ्च” रचिरहेको आरोप पनि लगाए।

उनले आफूहरूको आन्दोलन कुनै धर्म, जाति वा समुदायविरुद्ध नभई वर्तमान व्यवस्था परिवर्तनका लागि भएको स्पष्ट पारे। प्रसाईंले वैदिक सनातन हिन्दु अधिराज्य, राजसंस्थाको पुनर्बहाली र संविधान संशोधन आफ्नो आन्दोलनका प्रमुख एजेन्डा भएको दोहोर्‍याए। साथै, उच्चस्तरीय कार्यदल गठन गरेर आफ्ना माग सम्बोधन नगरे व्यवस्था परिवर्तनका लागि थप कडा आन्दोलनमा जाने चेतावनी दिए।

पत्रकार सम्मेलनमा उनले नेपालका बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई देशको अस्तित्व जोगाउन र आफूले उठाएका मुद्दामा साथ दिन आह्वान पनि गरे।

प्रसाईंको पछिल्लो अभिव्यक्तिसँगै राजसंस्था, हिन्दु राष्ट्र र संविधान संशोधनको विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ। यद्यपि, उनले उठाएका प्रस्तावहरूबारे सरकारको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖