• Monday 5th of October 2026

राति धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार दिउँसो केही स्थानमा भारी वर्षा हुने भए पनि रातिको समयमा धेरै भारी वर्षा हुने सम्भावना बढी रहेको छ।

विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

दिउँसो भने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको सक्रियता बढेको विभागले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖