• Monday 5th of October 2026

प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजन, दुर्गा सोब र सन्तोष परियारले अलग–अलग राजनीतिक यात्रा गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा विभाजन भएको छ। वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेद गहिरिँदै गएपछि पार्टीलाई एकीकृत रूपमा अघि बढाउन कठिन भएको निष्कर्ष निकाल्दै दुर्गा सोब र सन्तोष परियार पक्षले छुट्टाछुट्टै राजनीतिक यात्रा तय गर्ने निर्णय गरेका हुन्।

गत मङ्सिर ७ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी (विद्रोही समूह) र जेन–जी समूहबीच एकीकरण भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो। तर, निर्वाचनपछिको राजनीतिक अवस्था र संगठन सञ्चालनमा देखिएका चुनौतीका कारण दुवै पक्ष विभाजनमा सहमत भएका हुन्।

बुधबार भएको समझदारीअनुसार दुर्गा सोब नेतृत्वको समूहले पार्टीको पूर्ववत् नाम, संगठनात्मक संरचना र ‘आँखा’ निर्वाचन चिन्ह कायम राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। सन्तोष परियार नेतृत्वको समूहले भने ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम कायम राखे पनि नयाँ निर्वाचन चिन्ह प्रयोग गर्ने र तीन रङको झण्डासहित राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

सहमतिअनुसार अब दुवै पक्षले आफ्नै कार्यालय, विधान र संगठनात्मक संरचनाअनुसार काम गर्नेछन्। एक–अर्काको नाम, लेटरप्याड, निर्वाचन चिन्ह वा अन्य पहिचानमा कुनै दाबी नगर्ने समझदारी पनि भएको छ।

पार्टी एकीकृत रहँदा भएका चल–अचल सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण तथा अन्य दायित्वहरू पारदर्शी ढंगले आपसी सहमतिमा बाँडफाँड गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

दुवै पक्षले यो विभाजनलाई राजनीतिक आवश्यकताअनुसार भएको स्वाभाविक प्रक्रिया भएको बताएका छन्। राष्ट्रिय स्वाधीनता, सुशासन, संघीयता तथा अन्य साझा राष्ट्रिय मुद्दामा भने भविष्यमा पनि सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

साथै, पार्टी अध्यावधिकका लागि यसअघि निर्वाचन आयोगमा दर्ता गरिएको निवेदन फिर्ता लिएर नयाँ कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। विभाजनसम्बन्धी सहमतिपत्रमा दुर्गा सोब र सन्तोष परियारले हस्ताक्षर गरेका छन् भने दुवै पक्षका तीन–तीन जना नेताले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖