• Monday 5th of October 2026

भारतीय प्रधानसेनापति पाँचदिने औपचारिक भ्रमणमा नेपाल आउँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ आगामी साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच विगत सात दशकदेखि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। नयाँ सेना प्रमुख नियुक्त भएपछि औपचारिक भ्रमण आदान–प्रदान गर्दै उक्त सम्मान प्रदान गर्ने अभ्यास रहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भ्रमणको तयारी भइरहेको जानकारी दिँदै औपचारिक पुष्टि भएपछि विस्तृत कार्यक्रम सार्वजनिक गरिने बताएका छन्।

यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई २०८१ मंसिर २७ गते भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना रहेको बताइएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेटको मिति भने अझै तय भएको छैन।

गत चैत १३ गते बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि जनरल सेठ नेपाल भ्रमण गर्ने पहिलो उच्च भारतीय अधिकारी हुनेछन्। यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण तय भए पनि अन्तिम समयमा रद्द भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖