काठमाडौँ । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, नेपाल प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका सबै दर्जाको नयाँ तलब तथा सुविधा निर्धारण गरेको हो।
नयाँ तलबमानअनुसार प्रधान सेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थपिएपछि उक्त रकम कायम भएको हो। त्यस्तै, रथीको तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
तहगत रूपमा सहायक रथीको तलब ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीको ७२ हजार ८ सय ७६ रुपैयाँ र प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ पुगेको छ। सेनानीले मासिक ६७ हजार ९ सय ७ रुपैयाँ, सह–सेनानीले ६२ हजार ३ सय १५ रुपैयाँ, उप–सेनानीले ५९ हजार ५ सय ३७ रुपैयाँ तथा सहायक सेनानीले ४८ हजार ५८ रुपैयाँ तलब पाउने भएका छन्।
जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६ सय ७ रुपैयाँ, सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ र जमदारको ४३ हजार ३ सय ७२ रुपैयाँ कायम गरिएको छ।
तल्लो तहमा हुद्दाको तलब ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ निर्धारण गरिएको छ।
आधारभूत सैनिक पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ। त्यस्तै, रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ कायम गरिएको छ भने विभिन्न श्रेणीका फलोअर्सको तलब दर्जाअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म तोकिएको छ।
विमान सम्भार समूहका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा वृद्धि गरिएको छ। यसअन्तर्गत पाइलट उपरथीको तलब ९० हजार ५ सय ९ रुपैयाँसम्म पुगेको छ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी ग्रेड रकम तथा संशोधित तलबमानको आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ।



