काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताले आधारभूत सेवामा अझै सास्ती खेप्नुपरेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद प्रसाईंले निर्वाचनअघि गरिएको ‘नो लाइन, केबल अनलाइन’ भन्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।
उनले निर्वाचनका बेला जनतालाई प्रविधिमैत्री र सहज सेवा दिने वाचा गरिए पनि अहिले नागरिकले विभिन्न सेवाका लागि लामो लाइनमा बस्न बाध्य हुनुपरेको बताए।
प्रसाईंले सरकारी अनलाइन सेवामा पटक–पटक सर्भर समस्या आउने गरेको उल्लेख गर्दै त्यसका कारण सेवाग्राहीले अनावश्यक दुःख पाएको बताए।
उनले पछिल्लो समय देखिएको एलपी ग्यास अभावतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै लामो लाइनमा बसेर पनि नागरिकले सहज रूपमा ग्यास पाउन नसकेको बताए। ग्यास आपूर्ति सहज बनाउन र सेवा प्रवाह प्रभावकारी बनाउन तत्काल आवश्यक कदम चाल्न उनले सरकारसँग माग गरे।
