• Monday 5th of October 2026

रास्वपा सांसद मनिष झाको टिप्पणी : नियतमा शंका छैन तर सरकारको ढङ्ग पुगेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि शंका नभए पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य प्रणालीलाई प्रभावकारी बनाउन सरकारले काम गर्ने ढंग परिवर्तन गर्नुपर्ने धारणा राखे।

‘अहिलेको सरकारको निष्ठा (इन्टिग्रिटी) र नियत (इन्टेन्सन) माथि शंका छैन, तर कतै न कतै काम गर्ने ढंग पुगेन कि जस्तो लाग्छ,’ उनले भने, ‘यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने वास्तवमा तपाईंलाई केही पनि थाहा छैन।’

सांसद झाले गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले विकास र सिकाइ दुवैलाई अवरुद्ध गर्ने बताए। उनले शिक्षित समाजबाट मात्रै स्वस्थ राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्यायको स्थापना सम्भव हुने उल्लेख गरे।

मधेसका समस्या अझै समाधान हुन नसकेको भन्दै उनले सरकारलाई त्यसतर्फ गम्भीर बन्न आग्रह गरे। सीमा क्षेत्रमा गरिब नागरिकले बोकेको सामान्य सामानसमेत कडाइका साथ जाँच हुने, तर विमानस्थलबाट आउने धनी वर्गप्रति फरक व्यवहार हुने अवस्थाले विभेदको अनुभूति गराएको उनको भनाइ थियो।

‘सीमामा आउने गरिबको २५ रुपैयाँको चिप्ससमेत जाँच हुन्छ, तर एयरपोर्टबाट आउने धनीले महँगा सामान सहजै ल्याउन पाउँछन्। यस्तो विभेद किन ?’ उनले प्रश्न गरे।

नेपालको अर्थतन्त्र सुदृढ बनाउन मधेस, प्रवासी नेपाली र निजी क्षेत्रलाई विकासको साझेदार बनाउनुपर्नेमा जोड दिँदै उनले भारतको उदाहरण प्रस्तुत गरे। प्रवासी नेपालीको लगानी आकर्षित गर्न नागरिकता, भिसा तथा लगानीसम्बन्धी नीतिमा लचकता आवश्यक रहेको उनले बताए।

निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै सांसद झाले व्यवसायीहरू प्रहरी देख्दा सुरक्षित महसुस गर्नुको सट्टा छापा र धरपकडको डरमा बाँच्न बाध्य भएको टिप्पणी गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖