काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा संघीय संसद्को चालू अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
स्रोतका अनुसार भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।
‘संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको छ। कम्तीमा सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहोस्,’ सभामुखले आग्रह गरेको स्रोतले जनाएको छ।
तर, प्रधानमन्त्री शाहले यस विषयमा ठोस जवाफ नदिएको बताइएको छ। पछिल्लो समय प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएका छन्। उनीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने बताउँदै आएका छन्।
यद्यपि, प्रधानमन्त्री शाह भने संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिन इच्छुक नरहेको स्रोतको दाबी छ।
मंगलबार नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर श्वारले पनि प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पन्छिएको आरोप लगाएका थिए।
