काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्न लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भदौ २३ गते ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको हो।
अध्यक्ष साहले जेनजी आन्दोलनको उद्देश्य केवल सरकार परिवर्तन नभई समग्र राजनीतिक प्रणालीमा आमूल परिवर्तन ल्याउनु रहेको बताएका छन्। तर, केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर केही व्यक्ति र सरकार परिवर्तनमा मात्र सीमित पारेको उनको आरोप छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा घाइतेहरू अहिले सहाराविहीन बनेको र परिवर्तन चाहने नेपाली जनता निराश भएको विज्ञप्तिमा उल्लेख छ।
कमन जेनजी नेपालले वर्तमान बालेन नेतृत्वको सरकारमाथि दमनकारी चरित्र अपनाएको आरोपसमेत लगाएको छ। सुकुम्बासीको उठिबास, निर्दोष युवामाथि गोली प्रहार, संसद् तथा संवैधानिक संस्थाको मानमर्दन र नागरिकका संवैधानिक अधिकार खोस्ने प्रयासमा सरकार संलग्न रहेको आरोप संगठनले लगाएको हो।
त्यस्तै, चार महिना बितिसक्दा पनि किसानले भोगिरहेको मल अभाव, मूल्यवृद्धि, करको बोझ तथा ग्यासको लाइनजस्ता समस्या समाधान गर्न सरकार असफल भएको साहको आरोप छ।
जनताका आधारभूत समस्या समाधान गर्नुको साटो सरकारले ‘काण्डै काण्डको शृङ्खला’ निर्माण गर्नमा ध्यान दिएको आरोप लगाउँदै कमन जेनजी नेपालले सरकारलाई आन्दोलनका लागि तयार रहन चेतावनी दिएको छ।
