काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा सरकारले चरम लापरबाही गरेको आरोप लगाउँदै सदनमै धर्ना बस्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बुढाले भूकम्प गएको लामो समय बितिसक्दा पनि पीडितका घर पुनर्निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घरहरू १० महिना बितिसक्दा पनि निर्माण हुन नसकेको भन्दै सरकारसँग पुनर्निर्माण कहिलेसम्म पूरा हुने र पीडितहरूलाई टहरामै राखिरहने हो भन्ने प्रश्न गरे।
बुढाले पुनर्निर्माणसम्बन्धी कार्यविधि कहिले संशोधन हुने तथा छुटेका वास्तविक लाभग्राहीको पुनः विस्तृत क्षति आकलन कहिलेदेखि सुरु हुने भन्नेबारे पनि सरकारसँग जवाफ मागे।
पुनर्निर्माणमा भएको ढिलाइ सामान्य प्रशासनिक कमजोरी नभई सरकारको चरम लापरबाही भएको उनको आरोप थियो। भूकम्पपीडित नागरिकले सरकारसँग दया नभई आफ्नो अधिकार मागिरहेको उनले बताए।
सांसद बुढाले भदौ १ गतेको संसद् बैठकमा सरकारले जाजरकोट भूकम्प पुनर्निर्माणको समयबद्ध कार्ययोजना प्रस्तुत गर्नुपर्ने माग गरे। साथै, विद्यमान पुनर्निर्माण कार्यविधि संशोधन, छुटेका वास्तविक लाभग्राहीको पुनः मूल्याङ्कन तथा आवश्यक बजेट तत्काल सुनिश्चित गर्नुपर्ने उनको माग छ।
पुनर्निर्माणमा ढिलासुस्ती गर्ने निकायलाई जवाफदेही बनाउनुपर्ने माग गर्दै उनले भदौ १ गतेसम्म पनि सरकारले माग सम्बोधन नगरे सोही दिनदेखि प्रतिनिधि सभा परिसरमै धर्ना बस्ने चेतावनी दिएका छन्।
‘भदौ १ गतेसम्म पनि सरकार गैरजिम्मेवार भए सोही दिनदेखि यसै सदनमा म धर्ना बस्ने जानकारी गराउन चाहन्छु,’ उनले भने।
