काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनालाई शहीद घोषणा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका छन्।
साउन ९ गते राति सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा तथा रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
देवानगञ्जको घटनापछि भड्किएको हिंसाका क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवको मृत्यु भएको थियो।
सरकारले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिलगायतका विषयमा समेत सहमति गरेको जनाएको छ। यसअघि गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग राहत, क्षतिपूर्ति तथा अन्य सहयोगका विषयमा छलफल गरी सहमति गरेका थिए।
